स्रष्टाको रोयल्टी लेखाजोखा राख्ने संस्थामाथि नै आर्थिक हिनामिनाको आरोप

स्रष्टाको रोयल्टी लेखाजोखा राख्ने संस्थामाथि नै आर्थिक हिनामिनाको आरोप

काठमाडौँ — गीत–संगीत सिर्जना गर्ने स्रष्टाहरुले कानुनसम्मत पाउने रोयल्टी संकलन गर्नका लागि स्थापना भएको ‘रोयल्टी संकलन समाज’ विवादमा घेरिएको छ । स्रष्टाहरुले पाउनुपर्ने रोयल्टी उठाएर सरल रुपमा वितरण गर्नुपर्ने जिम्मेवारी पाएको समाजले नै संकलित रकम हिनामिना गरेको आरोप लागेको छ।

संगीत रोयल्टी संकलन समाज प्रतिलिपि अधिकार ऐन, ०५९ को दफा ३९ अनुसार नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा दर्ता भएको गैरसरकारी निकाय हो । देश एवं विदेशका विभिन्न स्थानमा सार्वजनिक एवं व्यापारिक रूपमा प्रयोग हुने नेपाली गीत–संगीतवापत रोयल्टी उठाई सम्बन्धित स्रष्टालाई वितरणका लागि स्रष्टा मिलेर समाजको स्थापना गरिएको हो । समाजको कार्यक्षेत्र स्रष्टाहरूलाई संस्थामा आबद्ध गराउने, सिर्जना प्रसारणको अनुमति दिने, रोयल्टीको दर निर्धारण, संकलन एवं वितरण गर्ने हो ।

रोयल्टी संकलन गर्ने संस्थाले नै रोयल्टी रकम दुरुपयोग गरेको भन्दै गीतकार संघ र संगीतकार संघ समाज विरुद्ध खनिएका हुन् । स्रष्टाको रोयल्टी नै धरापमा परेको भन्दै दुई संस्थाले रोयल्टी संकलन समाजको पछिल्लो निर्वाचनमाथि प्रश्न समेत उठाएका छन् । यी दुई संस्थाले समाजका अध्यक्ष सुरेश अधिकारीको कार्यकालमा करोडौं रकम हिनामिना भएको आरोप लगाउँदै पुन: उनलाई अध्यक्षमा निर्वाचित गर्नु उचित नहुने बताएको छ ।

भदौ २९ मा भएको समाजको निर्वाचनमा अधिकारी पुन: अध्यक्ष पदमा दोहोरिएपछि गीतकार तथा संगीतकार संघले आर्थिक हिनामिना लुकाउनकै लागि विधानविपरीत साधारणसभा सम्पन्न गरेको आरोप लगाएको हो । आर्थिक वर्ष ०७४ देखिको आर्थिक अनियमितता लुकाउन विधानविपरीत नयाँ कार्यसमिति निर्माण गरिएको दाबी गरेको हो ।

भदौ २३ गतेको साधारणसभामा सुरेश अधिकारीलाई उनको कार्यकालमा भएको आर्थिक अनियमितताबारे दुई संस्थाले प्रश्न गरेपछि सो दिनलाई तय भएको निर्वाचन स्थगित गरिएको थियो। तर भदौ २९ मा पूर्ण सदस्यको उपस्थितिविना नै अधिकारीले नयाँ कार्यसमितिको घोषणा गरेको दुई संघको आरोप छ । विधानअनुरुप रोयल्टी संकलन समाजको निर्वाचनमा पूर्ण सदस्यले मात्र मतदान गर्न पाउँछ ।

समाजको विधान अनुरुप पूर्ण सदस्य रहेका ३२ जनाले संगीतकार लक्ष्मण शेषलाई अध्यक्ष चयन गरेको दुई संघका पदाधिकारीहरुको दाबी छ । यस्तै, गीतकार र संगीतकार संघका पाँच-पाँचजनाको सदस्यतामा नयाँ कार्यसमिति चयन गरेको थियो । तर, सुरेश अधिकारीले उक्त निर्वाचनलाई मान्यता नदिएर आफैंलाई अध्यक्ष राखेर नयाँ कार्यसमितिको घोषणा गरेको संघको दाबी छ ।

‘सबै पूर्ण सदस्य घर फर्किसकेपछि सुरेश अधिकारीले गैरकानुनी ढंगबाट अध्यक्ष भएको स्वघोषणा गरे। त्यो कुनै पनि हालतमा गीतकार संघलाई मान्य हुँदैन। हामीले साधारणसभा खारेज गरेर हिँडेको हो । आर्थिक वर्ष २०७४/७५ देखिको लफडा छ त्यहाँ,’ शुभ मुकारुङले भने, ‘दुईजना चार्टर्ड एकाउन्टेन्टले फेल गरेको कोषाध्यक्षको आर्थिक प्रतिवेदनलाई यसपालीको प्रतिवेदनमा ल्याएर पास गराउन खोज्ने कुरा संगीतकार र गीतकार संघलाई कुनै पनि हालतमा मान्य छैन ।’

विधानविपरीत भएको निर्वाचनविरुद्ध दुई संस्थाले नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा पनि उजुरी दिएको छ । ‘उजुरी आएको थियो । हामीले रोयल्टी संकलक समाजलाई पत्र लेख्यौं । त्यहाँबाट जवाफ आइसकेको छ । त्यही जवाफ अनुसार २ पक्षबीच हामी छलफल गराउँछौं,’ रजिष्ट्रारको कार्यालय प्रमुख विष्णुकुमारी भट्टराईले बताइन् ।

रोयल्टी संकलन समाजले गरेको आर्थिक हिनामिनाको छानबिनका लागि दुई संघले असार १६ मै अख्तियारलाई उजुरी गरेको थियो । यातायात, एनसेल र एनटीसीबाट उठेको रकम हिनामिना गरी राजश्व चुहावटलगायत आफूखुसी कर्मचारी नियुक्ति, गैरकानूनी रुपमा सीमा बाहिर गरेको खर्च, पेश्की रकमको नाममा गरेको हिनामिना लगायतको विषयमाति छानबिन गर्न अख्तियारलाई संघहरुले आग्रह गर्दै उजुरी दिएको हो ।

संगीतकार संघका अध्यक्ष पारस मुकारुङले पनि विधानविपरीत खडा भएको कार्यसमितिप्रति आफ्नो आपत्ति रहेको बताए । गीतकार संघका सचिव, महेश आचार्य ‘संगीत रोयल्टी संकलन समाज’ले पेस गरेको आर्थिक प्रतिवेदनमा समाजले संकलित रोयल्टीको ९२ प्रतिशत रकम खर्च गरेको दाबी गरे । ‘रोयल्टी संकलक समाजले संकलित रोयल्टीको २५ प्रतिशत मात्रै खर्च गर्न पाउँछ । उनीहरुका प्रतिवेदनमा मनपरि खर्च गरिएको देखियो । त्यो कुरा त स्रष्टाहरुले पास गर्दैन । त्यो प्रतिवेदन पास गर्न खोज्दा यी दुई संस्थाले विरोध गर्‍यो,’ उनले भने,’भदौ २३ मा ती प्रतिवेदन पास गर्न दिइएन । चुनावी साधरणसभा स्थगित भयो । तर यसपटक त कोषाध्यक्षको प्रतिवेदनमा ९२ प्रतिशत खर्च भएको देखिन्छ ।’

रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी आफूले विधानअनुसार नै प्राप्त रोयल्टीबाट खर्च गरेको दाबी गर्छन् । ‘रोयल्टी संकलन समाजले जथाभावी खर्च गरेको छैन । यो संस्थाको आफ्नो प्रशासन पछि अर्को तीनवटा रोयल्टी संकलन संस्था छन् । ३१ ठाउँमा कार्यालयहरु खुलेका छन् । प्रस्तोता समाज नेपाल, उत्पादक समाज नेपाल, संगीत रोयल्टी समाज नेपाल एक ठाउँमा राखेर हिसाब निकाल्नुपर्ने हुन्छ,’ अध्यक्ष अधिकारीले भने, ‘त्यो हाम्रो प्रसाशनिक क्षेत्रमा पर्ने खर्च होइन । तीनवटा संस्थाको एकाउन्टेन्ट बसेर हिसाब गर्नुहुन्छ । तर त्यो सबै हाम्रो खाताबाट देखाइन्छ । त्यो खर्च देखाउनुपर्ने भएकाले ९२ प्रतिशत रकम देखिएको हो । हाम्रो प्रशासनिक खर्च साधारणसभाले जति अनुमति दिएको छ, २५ प्रतिशतभन्दा कहिले पनि नाघ्दैन ।’

गीतकार संघका महासचिव रमेश कोइराला स्रष्टाको रोयल्टी नै धरापमा पर्ने देखिएपछि आफूहरुले विधानविरीत गठन भएको कार्यसमितिविरुद्ध आवाज उठाएको तर्क गर्छन् । ‘रोयल्टी कसरी उठ्छ र स्रष्टाहरुलाई कसरी बाँडिनुपर्छ भन्ने लडाईं हाम्रो हुनुपर्ने थियो । तर रोयल्टी नै धरासायी भो । त्यसको विरुद्धमा लड्नुपर्ने दिन आयो,’ उनले भने, ‘अघिल्लो वर्षमा गरिएका बदमासी नदेखियोस् भनेर यो गैरकानुनी र अप्रजातान्त्रिक पद्दति पच्छाए । सदस्यहरुले मताधिकारबाट ल्याउने अधिकारबाट वञ्चित गरियो । निर्वाचन गैरकानूनी भएकाले यो नियमन गर्ने प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले रोयल्टी संकलन समाजलाई बदर गर्नुपर्‍यो ।’

रोयल्टी संकलन समाजका अध्यक्ष अधिकारी भने आफूहरुले विधान अनुसार नै निवार्चन गरेको दाबी गर्छन् । ‘विधानको दफा ४३ अनुसार निर्वाचन समिति बनेको छ । निर्वाचन समितिभित्रको विधिविधानभित्र आएर आवेदन दिएर भोटहरुको मन जितेर चुनाव जितरै कार्यसमिति बनेको हो । कार्यसमिति कुनै सडकमा बन्दैन,’अध्यक्ष अधिकारीले भने ।

संगीतकार लक्ष्मण शेष रोयल्टी संकलन समाजले आ.व. ०७४/७५ मा ५५-६० प्रतिशत र ७५/७६ मा ९२ प्रतिशतसम्म रोयल्टी रकम मनपरी खर्च गरेको आरोप लगाउँछन् । ‘कोधाध्यक्ष, महासचिव, अध्यक्षले पेस गर्ने आर्थिक हिसाब किताब विभिन्न निकाय अनुसार फरक-फरक छन् । एकपटक पेस गरिएको हिसाब केही महिनापछि पेस गर्दा भद्रगोल हिसाब निस्किएपछि हामी बाध्य भएर गीतकार र संगीतकार संघले पारदर्शी हिसाब मागेका थियौं । उहाँहरुले दिन सक्नुभएन,’ शेष सुनाउँछन् ।

रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश दुई संघको आरोप गलत रहेको बताउँछन् । ‘यस संस्थाको विधिविधान अनुसार कसैले चाहेर पनि हिनामिना गर्न मिल्दैन । एउटाको नाममा उठाएको रोयल्टी अरु कसैलाई दिन मिल्दैन । यो भ्रष्टाचार गर्न मिल्ने संस्था होइन। जसले यस्तो आरोप लगाएको छ, उहाँहरु पूर्ण रुपमा गलत हुनुहुन्छ । झुटो कुराहरु लिएर अख्तियारमा जानुभएको छ । अब उहाँहरुलाई अख्तियारले जवाफ देला,’ अधिकारीले बताए ।

रोयल्टी संकलन समाजभित्रको आर्थिक हिनामिना बाहिर निकाल्न आफूहरु अदालतसम्म पुग्ने संगीतकार लक्ष्मण बताउँछन् । ‘हामीले राष्ट्रियसभाको कानून संशोधन समितिमासमेत यो विषय राखेका छौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत यो विषयको ज्ञापनपत्र बुझाएका छौं । तत्कालिन संचारमन्त्री गोकुल बाँस्कोटा, सँस्कृतिमन्त्री योगेश भट्टराईलाई यो विषयमाथिको निवेदन बुझाएका छौं । हामीले यति धेरै प्रयास गरेका छौं । आर्थिक हिसाब किताबको सत्य यथार्थ बाहिर आउँदैन भने हामी अदालत जान्छौं,’ शेषले भने, ‘यसरी पनि हामीले न्याय पाएनौं भने बौद्धिक आन्दोलनको घोषणा गर्नेछौं । सिंहदरबार घेराउ गर्नेदेखि आमरण अन्सन गर्नेसम्म योजना बनाएका छौं ।’

Leave a Reply

Your email address will not be published.